आर्थिक

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप, धितोपत्र कसुरमा अनुसन्धान

११ वैशाख, काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद थप गरेको छ।

उनीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।

गोल्छा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन्। उनलाई नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त प्रकरणमा ऐनको दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसुर भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। बोर्डले तयार पारेको प्रतिवेदनमा गोल्छासहित ६ जनाको मिलेमतोमा सेयर कारोबार भएको आशंका गरिएको छ।

यस प्रकरणमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समेतको संलग्नता रहेको आशंका गरिएको छ।

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्षसमेत हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।