समाचार

रोल्पा दुर्घटना : मृतक संख्या २० पुग्यो, उद्धार कार्य अझै जारी

१७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर २० पुगेको छ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो करिब ८ सय मिटर तल भिरबाट खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका अधिकांश यात्रु वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन गइरहेका थिए।

प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु पुष्टि भइसकेको छ भने घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ। दुर्गम भौगोलिक अवस्था र कठिन पहुँचका कारण उद्धार कार्यमा चुनौती देखिएको जनाइएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।