१९ वैशाख, काठमाडौं । रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था सहित तीन वटा नयाँ अध्यादेश जारी गरेका छन्, जसले राजनीतिक नियुक्तिहरूमा व्यापक असर पार्ने देखिएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश समावेश छन्।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशले राजनीतिक आधारमा गरिएका नियुक्तिहरू खारेज हुने व्यवस्था गरेको बताइएको छ। यसले विभिन्न सरकारी निकायमा रहेका राजनीतिक नियुक्त पदाधिकारीहरू बर्खास्त हुने सम्भावना बढाएको छ।
संसद् अधिवेशन सञ्चालन नभएको अवस्थामा आवश्यक कानुनी व्यवस्था गर्न सरकारले अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको जनाइएको छ।





