राजनीति

‘डर मान्नुपर्दैन’- व्यवसायीलाई रवि लामिछानेको आश्वासन

२० वैशाख, काठमाडौं । रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गर्दै सरकारको उद्देश्य निजी क्षेत्रलाई कमजोर बनाउने नभएको स्पष्ट पारेका छन्।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारले सुशासन, नीतिगत सुधार र आर्थिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताए। “सरकारको कुनै पनि उद्देश्य व्यवसाय धराशायी बनाउने होइन, सहकार्य गरेर अघि बढ्ने हो,” उनले भने।

उनका अनुसार सरकारले उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न चाहेको छ। तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा भने कडाइका साथ निगरानी गरिने उनले स्पष्ट पारे।

लामिछानेले विगतमा राजनीतिक अस्थिरता र दबाबका कारण व्यवसायीहरूले विभिन्न शक्तिकेन्द्रसँग सम्झौता गर्नुपरेको अवस्था रहेको स्वीकार्दै अब त्यस्तो परिस्थिति दोहोरिन नदिने बताए। “अब तपाईंहरू निर्धक्क हुनुस्, नीति र कानुनले नै सुरक्षा दिनेछ,” उनले आश्वस्त पारे।

उनले व्यवसायीहरूलाई आफ्ना कमजोरीहरूको आत्ममूल्याङ्कन गर्न र आन्तरिक लेखापरीक्षणमार्फत सुधारमा लाग्न सुझाव दिए। साथै, सुशासन अभियान र कानुन कार्यान्वयनमा सरकारलाई साथ दिन आग्रह गरे।

लामिछानेले वर्तमान सरकार चुनावी वाचापत्रअनुसार नै अघि बढ्ने उल्लेख गर्दै त्यसबाट बाहिर नजाने दाबी गरे। उनले विगतजस्तो समस्या लिएर नेताको घरघरमा धाउनुपर्ने अवस्था अन्त्य गर्ने पनि बताए।

सरकारको मुख्य लक्ष्य नीतिगत सुधार, सुशासन र आर्थिक विकास रहेको उनले पुनः दोहोर्‍याए।