२२ वैशाख, काठमाडौं । सरकारले देशभरका विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिने भएको छ।
शिक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने प्रक्रिया अगाडि बढाएका छन्। समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहनेछन्।
मन्त्रालयका एक अधिकारीका अनुसार समिति गठनको पत्र आज बेलुका वा भोलिसम्म तयार हुने अपेक्षा गरिएको छ।
अध्यादेशमार्फत पदाधिकारीहरू पदमुक्त भएपछि विश्वविद्यालयहरू लामो समयदेखि नेतृत्वविहीन बनेका छन्। त्यसको असर शैक्षिक तथा प्रशासनिक कामकाजमा परेको भन्दै सरकारले छिट्टै नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
समितिले खुला आह्वानमार्फत योग्य उम्मेदवार छनोट गरी उपकुलपति लगायत पदाधिकारी नियुक्त गर्ने योजना बनाएको छ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय लगायतका संस्थामा पदाधिकारी नियुक्ति गर्नुपर्नेछ।
सम्बन्धित विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरी खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने मन्त्रालयले जनाएको छ।





