समाचार

फेरि लम्बियो हिरासत: भट्ट–अग्रवाल १२ दिन अझै थुनामा

२३ वैशाख, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त निर्णय गरेको हो।

सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँगको समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो भने सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको हो।

यसअघि सुलभ अग्रवालको हकमा छैटौँ पटक र दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको छ। अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन्।

दुवैजनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ।