१९ जेठ, धनगढी । डडेलधुराबाट केही दिनअघि बेपत्ता भएका सशस्त्र प्रहरीका जवान र एक स्थानीय व्यक्ति महाकाली नदीमा मृत अवस्थामा फेला परेका छन्।
मृतकहरूमा सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर तथा परशुराम नगरपालिका–५ का तीर्थबहादुर थापा मगर रहेका छन्। स्थानीय थापा मगरको शव डडेलधुरातर्फ महाकाली नदी किनारमा भेटिएको भने जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव नजिक भारततर्फको नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
भारतीय भूमिमा शव भेटिएकाले कानुनी प्रक्रिया पूरा गरी भारतीय प्रहरीले शव परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। घटनाको कारण खुल्न नसकेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





