ब्रेकिङ न्युज

महँगी बढिरहँदा बैंकको ब्याज किन घट्दैछ ?

३१ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपको ब्याजदर फेरि घटाएका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भए पनि कर्जा माग कमजोर रहेकाले ब्याजदर लगातार ओरालो लागेको हो।

असारका लागि सार्वजनिक गरिएको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.३४३ प्रतिशतबाट घटेर ४.२६५ प्रतिशतमा पुगेको छ। जेठको तुलनामा यो ०.०७७५ प्रतिशत बिन्दुले कम हो। २० वाणिज्य बैंकमध्ये सात बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्।

हाल कुनै पनि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशतभन्दा बढी ब्याज दिइरहेका छैनन्। तर वैशाख महिनाको वार्षिक मूल्यवृद्धि दर ५.०४ प्रतिशत रहेकाले निक्षेपकर्ताले पाउने ब्याज महँगीको दरभन्दा पनि कम भएको देखिएको छ। यसले बचतकर्ताको वास्तविक आम्दानी घट्ने संकेत गरेको छ।

कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एशिया, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्सियल र एनएमबी बैंकले असारका लागि ब्याजदर घटाएका छन्।

निक्षेपको ब्याजदर घटेसँगै बचत खाताको ब्याज र कर्जाको आधार दरमा पनि असर पर्नेछ। यसले आगामी दिनमा ऋणको ब्याजदर थप घट्ने सम्भावना रहेको बैंकिङ क्षेत्रको विश्लेषण छ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूबाट रकम खिच्दै आएको छ। यद्यपि कर्जा विस्तार सुस्त रहेकाले निक्षेपको ब्याजदरमा दबाब कायम रहेको देखिएको छ।

 व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर :

बैंकजेठको ब्याजदरअसारको ब्याजदर
कृषि विकास४.१५४.१५
सिटिजन्स४.१०४.१०
एभरेस्ट४.०५४.०५
ग्लोबल आईएमई४.५०४.५०
हिमालयन४.२५४.००
इन्भेस्टमेन्ट मेगा४.५०४.५०
कुमारी३.९६३.९१
लक्ष्मी सनराइज४.५०४.००
माछापुच्छ्रे४.५०४.५०
नबिल४.५५४.५५
नेपाल४.२५४.२५
नेपाल एसबीआई४.२५४.२५
एनआईसी एसिया४.५०४.००
एनएमबी४.८०४.७५
प्राइम कमर्सियल४.१५४.००
प्रभु४.५५४.५५
राष्ट्रिय वाणिज्य४.७५४.७५
सानिमा४.५०४.५०
सिद्धार्थ४.०५४.०५
स्ट्यान्डर्ड चार्टर्ड४.००३.९५