२० असार, बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्
एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समयको भाषा, व्यवहार र ‘अहंकारी प्रवृत्ति’का कारण हाल अवस्थामा एकता सम्भव नभएको उनले बताएका हुन् ।
आज रुपन्देहीको बुटवलमा आयोजित नेकपाको एक कार्यक्रममा उनले विगतको पार्टी एकता किन विफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकीकरण गरिए अर्को दुर्घटना दोहोरिन सक्ने उल्लेख गरे ।
विगतमा एकता गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रवृत्तिको समीक्षा नगरी अघि बढ्न नहुनेमा उनले जोड दिए ।
प्रचण्डले ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै ‘उल्टोउल्टो कुरा गर्ने’ र ‘अहंकारपूर्ण’ शैलीसँग तत्काल सहकार्य वा एकता सम्भव नरहेको बताए । उनले कार्यकर्तालाई एमालेसँग तत्काल एकता हुने भन्ने भ्रममा नपर्न समेत आग्रह गरे ।
विचार मिल्ने दुई–तीन साना राजनीतिक दलसँग भने छिट्टै पार्टी एकताको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । ती दलहरूसँगको एकतामा कुनै अन्योल नरहेको उनको भनाइ थियो ।
संसद्मा भने सरकारका गलत नीति र निर्णयविरुद्ध अरू दलसँग कार्यगत सहकार्य हुने उनले स्पष्ट पारे । उनले सरकारविरुद्धको सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने बताए । मुद्दाका आधारमा मात्र सहकार्य गरिने उनले उल्लेख गरे ।





