२६ असार, काठमाडौं । बैंक खाता बन्द गर्न अब सम्बन्धित शाखा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्दै बैंक तथा वित्तीय संस्थालाई मोबाइल वा वेब एपमार्फत ग्राहकले आफ्नै खाता बन्द गर्न मिल्ने प्रणाली विकास गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले निष्क्रिय खाता घटाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना तयार गरी आगामी पुसभित्र कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ।
नयाँ व्यवस्था अनुसार ग्राहकले शाखामा उपस्थित भएर वा मोबाइल तथा वेब एपमार्फत खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक खातामा स्थानान्तरण गरिनुपर्नेछ।
यसैगरी, खाता निष्क्रिय हुनुअघि बैंकहरूले ग्राहकलाई नियमित रूपमा फोन, एसएमएस वा इमेलमार्फत जानकारी गराउनुपर्नेछ। निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन पनि कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले ग्राहकलाई देशभरका जुनसुकै शाखाबाट सहज रूपमा निष्क्रिय खाता पुनः सक्रिय गर्ने सुविधा उपलब्ध गराउन पनि निर्देशन दिएको छ। साथै, पुनः सञ्चालन भएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।
यससँगै निष्क्रिय खाताको दुरुपयोगबाट हुन सक्ने अवैध आर्थिक कारोबार तथा वित्तीय अपराधबारे जनचेतना फैलाउन बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा सचेतनामूलक सामग्री उत्पादन र प्रसारण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।





