ब्रेकिङ न्युज

शव उठाउन पुगेको प्रहरीमाथि ढुंगामुढा किन भयो विराटनगरमा ?

२६ असार, विराटनगर ।  गाँजा तस्करीको आरोपमा प्रहरीबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मञ्जितकुमार यादवको शव निकाल्ने क्रममा विराटनगरमा तनाव भएको छ । शव उठाउने विषयमा विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेको हो।

विराटनगरको भेडियारी क्षेत्रमा शुक्रबार दिउँसो स्थानीय र मृतकका आफन्तले क्षतिपूर्ति तथा घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै शव उठाउन अवरोध गरेका थिए। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो।

प्रहरीका अनुसार बुधबार ६ किलोभन्दा बढी गाँजासहित मोटरसाइकलमा रहेका यादवलाई रोक्न खोज्दा उनी मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीको खोजीका क्रममा उनी भेडियारीस्थित पोखरीमा हाम फालेपछि बेपत्ता भएका थिए। पछि शुक्रबार बिहान उनको शव फेला परेको हो।

घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ६ किलो १२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

शव निकाल्ने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

झडपका क्रममा दुई जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् भने दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवस्था सामान्य भएपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।