२६ असार, इलाम । तीन वटा भैँसी गुमाएपछि पनि सपना गुमेन । “भटाभट भैँसी मरेपछि एकमनले विदेश जाउँ की जस्तो लाग्यो”, फाकफोकथुम गाउँपालिका(७ का सीताराम भण्डारीले भने, “आगोको घाउ आगोले निको हुन्छ भन्ने लागेर आँट गरेँ । अहिले चार माउ भैँसी र एक माउ गाईबाट दैनिक ७० लिटर दूध उत्पादन हुन्छ । वार्षिक रु १८ लाख आम्दानी गरिरहेको छु ।”
सीतारामले भैँसी फार्म दर्ता गरेको चार वर्ष हुँदैछ । उनले बिक्री भने गर्नुहुँदैन । “करिब ७० लिटर दूधको दैनिक सात किलो क्रिम हुन्छ । डकच्यू छूर्पी उत्पादन गरेर अमेरिका पठाउछु । भैँसी थपेर दिनको २०० लिटर दूध बनाएपछि आफैँ छूर्पी बनाउने र अमेरिका निर्यात गर्ने लक्ष्य छ”, सीतारामले भने ।
पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि विदेशमा रहनुभएका दाजुलाई उनले गाउँ फर्काएर आफ्नै व्यवसायमा संलग्न गराएका छन् । “विदेशमा रु ३० हजार कमाउनुभन्दा यहीँ पशुपालन गरेर रु एक लाखसम्म आम्दानी हुन थालेपछि दाजुलाई पनि गाउँ फर्काएँ”, उनले भने ।
भैँसी पालन उनको परिवारको पुख्र्यौली पेसा भएपनि उन्नत जातका भैँसी थिएनन् । खेतीयोग्य जग्गा पनि सीमित थियो । अझ व्यवसाय सञ्चालनका क्रममा तीन वटा भैँसी मरेपछि ठूलो आर्थिक र मानसिक पीडा बेहोर्नुपरेको थियो । “जग्गा नहुँदा अर्कालाई मल बनाइदिने सर्तमा भैँसी बाँधेर पनि पाल्यौँ । तर, यिनै भैँसीले जग्गा जोडिएको छ”, उनले भने, “अफ्ठयारो पर्दा रु १०(१५ लाख चाहिँदा अरुसँग हात फैलाउनु पर्दैन ।”
फार्मले अहिले स्थानीयस्तरमै रोजगारी सिर्जना गरेको सीतारामले बताए । उनका अनुसार मासिक रूपमा सात जनाले फार्ममा रोजगारी पाइरहेका छन् । “खेतबारीको कुनै जमिन बाँझो छैन । पशुका लागि आवश्यक घाँस आफ्नै बारीमा उत्पादन गरिन्छ”, उनले भने ।
उनको रहरलाग्दो भैँसीपालन देखेर गाउँका युवापुस्ता लोभिएका छन् । फाकफोकथुमका अविनास भण्डारी विदेशको सपना त्यागेर गाउँमा व्यवसायिक पशुपालन गर्ने सोचमा छन् । सीतारामका दुवै दाजुभाईको अहिले गाउँमै मनग्य आम्दानी भइरहेको छ । बिहान उठेदेखि रातीसम्म भैँसीको स्याहार गर्नुहुन्छ । “गरे देशमा हुने रहेछ । मैले विदेश जाने प्रक्रिया रद्द गरेँ । पशुपालनमार्फ स्वरोजगार बन्दै गाउँमै बस्ने योजना छ”, सीतारामले भने।
फाकफोकथुम गाउँपालिकाका अधिकांश नागरिक कृषक छन् । गाई, भैँसी, बाख्रा, कुखुरा पालनलाई व्यवसायिक बनाएर आर्थिक उपार्जन गररहेका गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए । “दूध उत्पादन वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य छ”, उनले भने, “दिनहुँ ३१ हजार लिटर दूध उत्पादन हुन्छ । एक लाख लिटर पुर्याउने लक्ष्य हो । किसानलाई विभिन्न कार्यक्रममार्फत अनुदान र सहुलियतमा जोडिरहेका छौँ ।”
सीताराम पालिकाका प्रेरणादायी युवा रहेका उपाध्यक्ष कल्पना राईले बताए । “योजना, सीप, प्रविधि र दृढ इच्छाशक्ति भएकाले गाउँमै बसेर पनि सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण छन्, उनी”, उपाध्यक्ष राईले भने,“ जीप कार्यक्रममार्फत उनलाई अनुदान पनि दिएका छौँ ।”
गाउँपालिकाले कोशी प्रदेश सरकार र दायित्व संस्थासँगको साझेदारीमा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट उद्यमी छानेर तालिम र अनुदान दिइरहेको छ । सीताराले व्यावसायिक योजना निर्माण, गोठ व्यवस्थापनलगायत विषयमा तालिम पाएको उल्लेख गरे । “तालिमले योजना बनाउन सिकायो, ५० प्रतिशत अनुदानमा छूर्पी बनाउने उपकरण पाएको छु, प्रोत्साहन मिलेको छ”, उनले भने ।




