खेलकुद

एसीसी महिला यू-१९ : नेपालको लगातार दोस्रो जित

२८ असार, काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ । दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ ।

नेपालले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान गरिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अनु कडायतले तीन तथा मनिषा उपाध्याय र रिया शर्माले दुई–दुई विकेट लिए । कप्तान सोनी पाख्रिनको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइ १९९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि साना प्रवीनले ७० बलमा १३ चौकाको मद्दतले सर्वाधिक ९८ रनको योगदान गरिन् । यसैगरी, सावित्री धामीले ५३ बलमा १३ चौकासहित ७८ रन जोडिन् ।

पहिलो खेलमा नेपालले कतारलाई १०५ रनले हराउँदा सिंंगापुर हङकङसँग तीन विकेटले पराजित भएको थियो।

अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।