४ साउन, काठमाडौं, । नेपाली सेयर बजारले सोमबार पनि उत्साहजनक वृद्धि कायम राख्दै लगातार पाँचौँ कारोबार दिन हरियाली यात्रा जारी राखेको छ। नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले बढेर २७१९.०५ अंकमा पुगेको छ, जुन पछिल्लो एक महिनाकै उच्च स्तर हो।
अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजारले सोमबार पनि मजबुत लय कायम राखेपछि दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। जेठ २९ गतेपछि पहिलो पटक बजार २७ सय १९ अंकको स्तरमा पुगेको हो।
बजारसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। शुक्रबारको ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार सोमबार बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश उपसमूह सकारात्मक रहेकामा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले उकालो लाग्यो। त्यसपछि अन्य, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, विकास बैंक, व्यापार, बैंकिङ, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि बढेका छन्।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। त्यस्तै रिजलाइन इनर्जी, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट र शिखर पावरका लगानीकर्ताले पनि उल्लेखनीय लाभ कमाए।
यता आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सबैभन्दा धेरै घट्ने कम्पनीमा परेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्स सबैभन्दा सक्रिय कम्पनी बने।





