समाचार

अवैध रुपमा कुखुरा तस्करी

राँझा । भारतबाट अवैध रुपमा तस्करी हुने कुखुराजन्य पदार्थ नरोकिँदा यहाँका कुखुरा व्यवसायी पीडित भएका छन् ।
मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्रि नाकाबाट खुलेयाम रुपमा भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुर बाँकेका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताए । उनले ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि व्यवसाय धरापमा परेको जानकारी दिए ।

बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले आफूहरु समस्यामा परेको उनको भनाइ छ । सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पुग्ने गरेको कोहलपुरका कुखुरा व्यवसायी रमेश खड्काले बताए । उनले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा सहयोग नपाइएको गुनासो गरे ।

भारतमा बेला बखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ । तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो दर रहेको हुँदा मुनाफाको लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको उनले बताए । सीमा क्षेत्र जुमनाहस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिइएको बताए । “यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ”, उनले भने, “खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।”

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जका स्वास्थ्य प्राविधिक महेशसिंह ठकुरीले अवैध रुपमा आयात हुने गरेका भारतीय कुखुराले नेपाली कुखरा व्यवसायीसँगै मानवस्वास्थ्यलाई समेत गम्भीर असर गर्ने गरेको बताए । उनले भारतबाट आयात हुने कुखुरामा धेरै मात्रामा भिटामिन लगायतका औषधि प्रयोग हुने गरेकाले त्यसको प्रयोगले मानवस्वास्थ्यमा समस्या देखिन सक्ने उल्लेख गरे। नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी अमरबहादुर शाहीले भारतीय पक्षीजन्य वस्तु आयात रोक्न आफू क्रियाशील रहेको बताए । सम्भावित चोरी निकासी हुने ग्रामीण क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीको सहयोगमा दैनिकजसो गस्ती गर्ने गरेको उनको दाबी छ ।

चौविस हजार भारतीय चल्ला नष्ट

पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षको हालसम्म भारतबाट अवैध रुपमा नेपाल भित्रिएका २४ हजार ७० कुखुराका चल्ला नष्ट गरेको छ । कार्यालयका सूचना अधिकारी शाहीका अनुसार, चालू आर्थिक वर्षको साउनदेखि यही फागुन २० गतेसम्म अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीलै नियन्त्रणमा लिएका २४ हजार ७० चल्ला नष्ट गरिएको हो ।

यो अवधिमा तयारी ब्रोइलर दुई हजार ८२८, तयारी मासु ७४ किलो र सेतो अण्डा ८२६ नियन्त्रणमा लिई नष्ट गरिएको उनले जानकारी दिए । उनका अनुसार भारतीय ब्रोइलर कुखुरा, चल्ला, मासु, अण्डा भित्र्याउनेमाथि कारवाही गरेर पशु क्वारेन्टाइन कार्यालयले रु आठ लाख ४८ हजार राजश्व सङ्कलन गरेको छ ।