राजनीति

कोरोना नियन्त्रण प्रयास: तरुण दलद्वारा सर्वसाधारणलाई एक हजार मास्क निःशुल्क वितरण

रामपुर, ६ चैत । कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै तरुण दल रामपुरले निःशुल्क मास्क वितरण गरेको हो ।

बेझाड बजार चोकमा मास्क वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरे ।

नगरप्रमुख थापाले बाहिरबाट रामपुर भित्रने नागरिकको स्वास्थ्य परीक्षण गर्न विभिन्न नाकामा हेल्प डेस्क स्थापना, आइसोलेसन कक्षका लागि पाँच श्याको तयारी गरिएको जानकारी दिए । रामपुरमा मास्कको अभाव सिर्जना हुन नदिन रामपुर नगरपालिकाकाले मास्क उत्पादन गर्न लागेको नगरप्रमुख थापाले बताए ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने तरुण दल नगर सभापति शङ्करबहादुर खाँणले बताए । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ । दुई हजार मास्क रामपुर स्थित विभिन्न सङ्घसंस्थालाई वितरण गर्ने तरुण दलका सदस्य प्रकाश क्षेत्रीले बताए ।