आर्थिक

एन आई सी एशिया बैँकको तेस्रो त्रैमासिक वित्तीय नतिजा

३० बैसाख, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६÷७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी कोरोना भाईरस को कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत (३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०प्रतिशत (२६ करोड) को वृद्धि सहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्बले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु¥याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एन आई सी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले चालु आ. व. को ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहक महानुभावहरूको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्ने बैंकको दाबी छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।