खेलकुद

अन्ततः ३० वर्षपछि लिभरपुल बन्यो प्रिमियर लिगको च्याम्पीएनः फर्कियो खुसी

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९र९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।

साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएको थियो । यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।