१२ भदौ, काठमाडौँ । रौतहट जिल्लाको गरुडा नगरपालिका–८ का २० वर्षीय विजय रामको हत्या गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति सङ्गठनले आज प्रेस विज्ञप्ति जारी गरी रौतहट जिल्लामा भएको निरञ्जन रामको हत्या घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनी लगेर अपराध कबुल गराउन मरणासन्न हुने गरी कुटपिट गर्दा भएको हत्याका दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेको हो ।
“प्रहरी हिरासतमा भएको अमानवीय घटना स्वयम् प्रहरीको चरम यातनाबाट भएको भन्ने बुझिएको हुनाले उक्त घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि जोड्दार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सो सङ्गठनले राजनीतिक तथा सामाजिक रुपान्तरणसँग सम्बन्धित त्यस्ता घटनाहरुको समाधान तथा आगामी दिनमा हुन नदिनका लागि राजनीतिक दल, विभिन्न सङ्घ÷सङ्गठन र मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा कार्यरत सबैलाई अपिल समेत गरेको छ ।





