सितल देवी शर्मा/ देशका बिभिन्न भागमा लकडाउन भएको ६ महिना भन्दा बढी भैसकेको छ । अब कहिले खुल्ने हो ठयाक्कै भन्न सकिने अवस्था छैन । कोरोना भाईरस संक्रमणको कारणले मृत्यु हुने चार सय पुग्न लागिसकेका छन् । साधारण जनता, बिरामीहरु र मजदुरहरुलाई झनझन सकस पर्दै गैरहेको छ । कतिपय मजदुरहरु बाटो बाटोमा भौतारिदै हिडेको देखिन्छ । कतिपयले खाना खान नपाएर कसले खान दिन्छ भनेर हेरिरहेका हुन्छन् । बाटोमा बस्ने र गरिब मजदुरहरुलाई ठुलो हृदय हुनेहरुले बिहान बेलुका समूह मिलेर पैसा उठाएर खाना पकाएर ठाउँ ठाउँमा गएर बाडिरहेको देखिन्छ । कतिपय मजदुरहरु हिडेरै लामो दुरी भएपनि आफ्नै गाउ फर्केका छन् । यो बन्दले जनता, सरकार लगायत सबैलाई अप्ठ्यारो पारेको छ । म स्वस्थ्यकर्मी भएकोले म दैनिक आफ्नो ड्युटीमा आउने गर्छु । दैनिक जसो अफिसमा आउने क्रममा एक जना भाईलाई देख्छु । उनी ३ पांग्रे साइकल चलाउदै हिड्छन् । हसिलो अनुहार, सफा लुगा, चिटिक्क परेको जिउ साइकलको अगाडी एउटा पहेलो प्लास्टिकको भाडा राखेको हुन्छ । मलाई किनकिन उनीसँग कुरा गर्न मन परेको थियो । एक दिन समय मिलाएर कुरा गर्ने जमर्को गरें । मेरो इच्छा पुरा पनि भयो । उनी खुशी भएर समय दिए । मौखिक र लिखित रुपमै अनुमति लिएँ । तिम्रो बारेमा म केहि सोध्न र लेख्न सक्छु भनेर सोध्दा ! अनि उनले हुन्छ लेख्नुस दिदि भनेर “मेरो जिवनबाट कसैले सिक्ने भए सिक्छन् ‘’ भनेर खुशी व्यक्त गरें । फोटो पनि खिचे, सानो भिडियो पनि गरे । उनीसंगको कुराकानीले उनी सार्है मेहनेती भएको कुरा थाहा भयो ।
साथै उनीसँगको कुराले मलाई धेरै उत्साह मिल्यो । उनी असाध्यै मेहनती रहेछन् । अपाङ्ग छन्, आफैं हिड्न उठ्न सक्दैनन्, एउटा साइकलको सहाराले यति धेरै काम गरेको देख्दा र सुन्दा म भाबुक बने । किनकी म पनि दिनमा घर र अफिसमा गरेर लगभग १०/११ घण्टा जति काम गर्छु होला तर यी भाईले त बिहान ४ बजे उठेर बेलुका सम्म नै काम गर्दा रहेछन् । सामान्य भएका मानिसहरु मागेर खान्छन् । तर उनको जिवन त हामी जस्ता सामान्य मानिसहरुको लागि साँच्चिकै उत्प्रेरणा दिने खालको रहेछ । उनको नाम हिरामान परियार हो । उनका एक श्रीमती एक छोरा र ५ छोरीहरु छन् । अहिले नातीनातिना समेत छन् । लालगढ़–१० मिथिला नगर पालिका धनुषाका हुन् । उनी आज भन्दा १३ बर्ष अगाडी घर बनाउने क्रममा लडेर घाइते भएका रहेछन् । त्यस समयमा उनी जवान थिए तर के गर्नु घाइते भएपछि कम्मर देखी तल्लो भाग चल्नै नसक्ने गरी चोट लागेछ । पिशाब आएको समेत थाहा नपाउने भएछन् । उनको ८ जनाको परिवारमा उनी एक जनामात्र कमाउने रहेछन् । उनको जिवनमा र परिवारमा ठुलो बज्रपात परेछ । उनी केहि समय निशब्द भएर घरमै बसेछन् । गरिब परिवारका भएकाले आफैं उपचार गर्न नसकेपछि अरुको सहयोग खोज्न थालेका रहेछन् । यहि खोज्ने क्रममा लालगढ़ अस्पताललाई अनुरोध गरेछन् । लालगढ़ अस्पतालले उनको दुःखमा साथ दिदै उपचारमा सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ ।
उनलाई त्यही समयदेखी नै सहयोग पुर्याईरहेको कुरा बताउछन् र अस्पताल प्रति ह्रदय देखि नै आभार ब्यक्त गर्दछन् । अस्पतालले कुष्ठप्रभाबित तथा गरिब अपांग व्यक्तिहरुको आर्थिक अवस्था उकास्न मदत गर्ने र उपचारमा समेत सहयोग पुर्याउदै आइरहेको कुरा बताउछन् । साधारण उपचार यसै अस्पतालमा गराएर थप उपचारको लागि अस्पतालको आफ्नै खर्चमा अर्को अस्पताल पठाएर उपचार गराईदिएको कुरा यी बताउछन् । तत्पश्चात यिनले ३ पांग्रे साइकल चलाउन सक्ने भएका रहेछन् । त्यसपछि उनको दिनचर्या खुसीले बित्न थालेको कुरा उनि बताउछन् । उनले सुँगुर पालेका रहेछन् । सुँगुरलार्ई चाहरो आफैंं खोजेर, किनेर ल्याएर दिँदारहिछन् । बिहान ४ बजे उठेर सुँगुरको चाहरोको जोहो गरी खान दिएर १०/११ बजे घरमा आउछन् । घरमा आएर आफ्नो नुहाई धुवाई गरेर खाना खाएर एकछिन आराम गर्छन् । फेरी ३ बजे तिर सुँगुरको चाहरोको ब्यबस्था गर्न जाँदा रहेछन् । सुँगुरको खाना लिन ३र४ घण्टा लाग्ने ठाँउमा गएर ल्याउनु पर्ने ठाउमा उनि एक्लै जान्छन्, गर्मी होस् या जाडो होस्, पानी नै किन नपरोस अथवा देशमा लकडाउन नै किन नहोस् उनको काम कहिलै रोक्किदो रहेनछ । अझै फुर्सदको समयमा वरपर वा छरछिमेकको लुगा सिलाउने काम समेत गर्ने कुरा बताए ।
यति मात्र कहाँ हो र आफु जस्तै कोही अपांग देखे भेटें भने आफुले सकेको कामहरु गर्नुपर्छ । हामी अपाङ्ग छौ भनेर यत्तिकै बस्नु हुँदैन मनोबल बढाएर आफैं काम गर्नु पर्छ भनेर हौसला दिने र परामर्श दिने काम पनि गर्दा रहेछन् । हेर म कति काम गर्छु भनेर आफैँलाई नमुना स्वरूप प्रस्तुत गरेर परामर्स दिने कार्य गरिरहन्छन् । यो भाइको जीवन देखेर म पनि धेरै प्रभावित भए । यिनको जीवनबाट सबैले मिहिनेत गर्नु पर्छ भन्ने कुरा सिकाउछ । नाच्न जान्दिन आगन टेडो भने झैँ अल्छि मान्छेले काम पाईन भन्ने बहाना बनाउछन् जस्तो लाग्छ, उनलाई देखेपछि । यी मेहेनती भाइलाई न जागिर चाहियो, न व्यवसायका लागि ऋण नै चाइयो । मानिसमा म केहि गर्न सक्छु मन्ने मनोबल र मेहेनेतका साथ आफ्नो जीवनलाई अगाडी बडाउन चाहेमा जिवन अगाडी बडाउन सकिन्छ भन्ने पाठ यी हिरामन परियारको जिवनले हामी सबैलाई सिकाईरहेको छ । अपांग भए भन्दैमा घरमा बसिराख्नु हुँदैन आफुले सक्ने काम गर्नु पर्छ । आफुलाई कुनै काम आउदैन भने पनि सिकेर वा तालिम लिएर कामहरु गर्नु भयो भने तपाइको जिवन खुशी खुशी साथ अगाडी बढ्ने छ ।
( स्वास्थ्यकर्मीसमेत रहेकी शर्मा लालगढ़ १० धनुषा बस्छिन् ।)






