राजनीति

पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्दै

काठमाडौं २० कार्तिक । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो । १६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ ।

देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ । सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले विगतका निर्णय विधानको अधीनमा रहेर भएको प्रस्ट्याएका थिए । निधि र खड्काको जवाफले पौडेल पक्ष सन्तुष्ट हुन् सकेको छैन ।

शुक्रबारदेखि केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमको निर्णय गराउन संस्थापन पक्ष लागेको छ। पौडेल पक्षले आफ्ना मागलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता,भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ ।