२७ म.सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (आइतबार) बोलाएको संवैधानिक परिषदको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।
आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश उनले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् देउवाले आज प्रधानमन्त्री ओलीलाई पठाएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाकेको परिषद बैठकप्रति नै सन्देश उत्पन्न भएको भन्दै देउवाले अस्वीकार गरेका हुन् ।
कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ । त्यसको मुखमा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ । भोली प्रधानमन्त्री ओलीको पार्टी नेकपाकै पनि स्थायी कमिटी बैठक छ। उनले पार्टीको बैठक छल्नका लागि पनि बैठक बोलाएको हुनसक्ने शंका कांग्रेसको छ ।
संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्त लगायत संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छ।
लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको देशव्यापी कार्यक्रमलाई लक्षित गरी परिषद बैठक बोलाउने प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताएका छन् ।





