पु.समाचार

अध्यादेश तत्काल खारेज गर्न नेकपा अध्यक्ष दाहालको माग

३० मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो, पार्टीमा समेत छलफल भएन यो लोकतन्त्रको उपहास हो अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भनेका छन् ।

पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ, यो बदनियतपूर्ण छ, यसलाई तुरुन्तै खारेज गर्नुपर्छ उनले भने ।