पु.समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि बस्दै

९ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज पनि बस्दै छ । मंगलबार सुरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी रहने भएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय समितको बैठक बस्नेछ । हिजो दोस्रो दिनको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताएका थिए ।

तर हिजोको बैठकमा चुनावमा जाने कि आन्दोलनमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको थियो । देउवा पक्ष चुनावमा सहभागी भएर कांग्रेसलाई आएको अवसर उपयोग गर्नुपर्ने पक्षमा छन् भने पौडेल समूह आन्दोलनमा जानुपर्ने अडानमा छ ।

प्रवक्ता शर्माले भने संसद् विघटनपछि पुस ५ गते बसेको पार्टीको पदाधिकारी बैठक र कांग्रेसकै संयोजनमा बसेको सर्वदलीय बैठकले प्रतिनिसभा भंग गर्ने कदमलाई असंवैधानिक ठहर गरिसकेकाले कांग्रेस विरोधमै जाने बताएका छन् । बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए । बैठकले पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।