राजनीति

ओली सरकारका बिरुद्ध आज ७७ जिल्लामै प्रदर्शन गर्दै कांग्रेसका शुभेच्छुक संस्था

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुले आज ओली सरकारका बिरुद्ध आज ७७ जिल्लामै प्रदर्शन गर्दै छन् ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसको केन्द्रीय निर्णयअनुसार आज शुभेच्छुक संस्थाहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो ।

गत पुस ५ गते ओली नेतृत्वको सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध गर्दै आएको छ ।

विरोध प्रदर्शन अन्तर्गत आज शुभेच्छुक संस्थाहरुले देशभर सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । संस्थाहरुले आज काठमाडौंमा मानव साङ्लो बनाउने भएका छन् ।

शुभेच्छुक संस्थाहरुले काठमाडौं उपत्यकामा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर मौन विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नेछन् ।