२८ माघ, काठमाडौं। माधव नेपाल–पुष्पकमल दहाल पक्षको जनसभामा भाग लिन उपत्यकाबहिरबाट कार्यकर्ता आउनेक्रम जारी रहेकाले उपत्यकामा जाम शुरु हुन थालेको छ । काठमाडौं उपत्यकाको प्रदर्शनी मार्गमा पुर्बनिर्धारित समय अनुसार आज दिउँसो हुन लागेको नेकपा प्रदर्शनमा तीन लाख जनता उतार्ने दाबी नेपाल–दहाल पक्षले गरिसकेको छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको दरबारमार्गमा गरेको २३ गतेको बिशाल प्रदर्शनपछि आज २८ गते नेपाल दहाल पक्षले त्योभन्दा ठूलो प्रदर्शन गर्न लागेको दाबी गरेको छ ।
हिजो नै सयौं बसमा काठमाडौं बाहिरबाट मानिसहरुलाई ल्याईएको छ । शंखमुलको बागमती किनारमा मानिसहरु ल्याईएका बसहरु राखिएका छन् । मानिसहरु प्रदेश नम्बर २ लगायत देशभरबाट ल्याईएका छन् । प्रदर्शनमा ल्याईएका सर्बसाधारणहरुलाई देख्दा स्थानीयहरु नेताहरुले गाउँका जनतालाई दुःख दिएको बताईरहेका सुनिन्थ्यो ।
नेकपा नेपाल–दहाल पक्षले गर्ने भनिएको बिशाल जनसभामा ट्राफिक ब्यवस्थापन मिलाउन ट्राफिक प्रहरी आफ्नो पुरै शक्ती प्रयोग गरेर सडकमा उत्रेको छ । नेकपा फुटेको भए पनि ओली र नेपाल–दहाल पक्ष कुनैलाई पनि निर्बाचन आयोगले आधिकारिकता दिएको छैन । दुबै पक्ष सुर्य चिन्ह आफ्नो भएको बताउँदै आएका छन् भने आधिकारिक नेकपासमेत आफ्नै भएको उनीहरुको दाबी छ ।







