राजनीति

प्रधानमन्त्रीले राजीनामा दिए सत्ताको खेल बढ्नेछ, तत्काल राजीनामा दिनुहुन्न: सल्लाहकार थापा

११ फागुन, काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ भनेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन भनेका छन् । पौष ५ गते गरिएको संसद बिघटनलाई आज सर्बोच्च अदालतले असंबैधानिक भन्दै खारेज गरेपछि प्रधानमन्त्रीले राजीनामा दिने टिकाटिप्पणी भइरहेको बेला प्रधानमन्त्रीका सल्लाहकार थापाले उक्त स्पष्ट गरेका हुन् ।

उनको स्टाटस्ः सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।