पु.समाचार

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छः डा. महत

२९ फागुन, दमौली / नेपाली कांग्रेसका नेता डा रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको आज समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे ।
खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाइ थियो । खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

आदर्श कपको उपाधि थर्पुलाई

नवौँ आदर्श तथा चौथो तारा स्मृति कपको उपाधि थर्पु युवा क्लब ए ले जितेको छ । आज भएको फाइनल खेलमा दोभान युवा क्लबलाई पराजित गर्दै आदर्श कपको उपाधि थर्पुले चुमेको हो । खेलको एक मिनेटमै गोल गरेको अग्रता लिएको थर्पु युवा क्लबलाई दोभानले दोस्रो हाफको १३ मिनेटमा गोल गरेर खेललाई बराबरमा ल्याएको थियो । निर्धारित समयमा दुवै टिमबाट एक-एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरबाट थर्पु ३–२ को अन्तरले विजयी भएको छ ।
विजयसँगै थर्पु युवा क्लबले नगद एक लाख एक, मेडल र ट्रफी जितेको छ भने उपविजेता दोभानले नगद ५० हजार एक, मेडल र ट्रफीमा चित्त बुझाएको छ ।
आजै भएको सेमिफाइनल खेलमा इगल एफसीलाई २–१ ले पराजित गर्दै थर्पु युवा क्लब ए फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै थर्पु युवा क्लब बि लाई ५–० ले पराजित गर्दै दोभान युवा क्लवले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष गौरवराज रानाले जानकारी दिए ।