अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमीत दैनिक बृद्धिः १ लाख ३१ हजार थपिए

२७ चैत्र, एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको छ ।

कोरोनाभाइरसका कारण हरेक दिन स्थिति बिग्रँदो अवस्थामा रहेको देखिएको । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए ।

अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।

देशमा बिरामी भेटिने संख्या पनि बढेर ९.२१ प्रतिशत भएको छ । अर्थात् हरेक सय व्यक्तिमा ९ जना कोरोना संक्रमित पाइएका छन् । तीन हप्ताअघि अर्थात् ११ देखि १७ मार्चबीच बिरामी भेटिने संख्या ३.११ प्रतिशत थियो ।