विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने भएपछि स्थानीयवासी खुशी छन् ।
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत रु ९० लाख ७० हजारको लागतमा निर्माण गरिने इक्राधारी बिचारी खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै यहाँका स्थानीयवासीको लामो समयदेखिको चाहना पूरा हुने भएको हो ।
विश्वव्यापी पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा निर्माण कार्यले निरन्तरता पाएसँगै हाल योजना अन्तिम चरणमा आइपुगेको चित्राघारी बिचारी खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
उहाँका अनुसार बस्तीभन्दा इक्राघारी बिचारी पानी भलाम खोलाको मुहान एक हजार ७०० मिटर टाढा जङ्गलको स्रोतबाट दुई इन्चको पाइपमार्फत ल्याइएको पानी जुकेपानी खोरस्थित निर्मित ५० हजार क्षमताको पानी ट्याङ्कीमा सङ्कलन गरिएको छ । उक्त ट्याङ्कीबाट भण्डारी टोलमा ३० हजार र खोरमा ३० हजार लिटर क्षमताका छुट्टाछुट्टै दुईवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरमा पानी वितरण गर्ने अन्तिम तयारी छ ।
“कोरोना कहरका बाबजुद २०७६ जेठमा शुरु गरेको योजनाको काम कुनै दिन पनि रोकिएन”, उनले भने , “एक वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने यस आयोजनाबाट खोरलगायत ९५ घरका लगभग ५०० परिवारलाई शुद्ध खानेपानीको सुविधा पुग्नेछ ।”
स्रोतबाट सङ्कलन गर्ने तीनवटै ट्याङ्कीमा पानी झरिसकेको छ । योजनाको सम्झौताअनुसार वितरण लाइन विस्तारका लागि जनसहभागिता परिचालन गरिने कार्यक्रमअन्तर्गत यतिखेर पाइप विस्तारको काम भइरहेको छ ।
तीन हजारभन्दा बढी मिटर लम्बाइमा वितरण पाइप विस्तारको काम तीव्र गतिमा भइरहेको छ । तोकिएकै समयमा योजना निर्माण सम्पन्न भई स्थानीय बासिन्दाले खानेपानीको सुविधा पाउनेछन्”, उनले भने , “जङ्गल बीचको पानी आगामी असार महिनासम्म घरघरमा जडान गरिएका धाराबाट झर्ने लक्ष्य रहेकामा कोरोनाको दोस्रो भेरियन्टका कारण भएको बन्दाबन्दीले ढिलो हुने हो की भन्ने चिन्ता बढेको छ ।”
नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबद्वारा विगत झण्डै चार दशकअघि निर्माण गरिएको योजनाबाट टोलटोलमा सामूहिक धारा जडान गरी खानेपानीको व्यवस्था गरिएको भए पनि जीर्ण पाइप र तीव्ररुपमा भएको वस्ती विकासका कारण पानीको अभाव भएका कारण नयाँ योजनाको माग गरिएको समितिका सचिव प्रजापति पाण्डे बताए ।
करीब सात घरको बीचमा निर्माण गरिएको सानो ट्याङ्कीबाट पाइप विस्तार गरेर अस्थायीरुपमा घरमा पानी लगेपछि कतिपयले भने गाग्री डोकोमा राखेर बोकेर लगी निर्माण गर्दै आएको जनाउँदै उनले बर्सातको समयमा पानी प्रशस्त भए पनि फागुन, चैत र वैशाख लगभग तीन महिना भने पानीको स्रोत कम हुने गरेको बताए ।
उपभोक्ता समितिका कोषाध्यक्ष्य माया जिसीले योजना सम्पन्न भएसँगै प्रत्येक घरमा धाराको मिटर जडानसहितको सम्पूर्ण निर्माण कार्य खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले गर्ने योजनाअनुसार काम भइरहेको बताइन् । प्राकृतिक थुम्की निर्माण सेवाले जिम्मा लिएको सो योजनाबाट कूल १२० सम्म धारा जडान गरी सञ्चालन गर्ने क्षमता छ ।





