बाजुरा । बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् ।
अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।
यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको छ । गाउँभरि डुलेर अरुसँग मागेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्ना बताए ।
कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै समस्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरि मागेर पाल्ने गरेको बाजे अर्जुनले बताए । “सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्”,उनले भने ।
अर्जुनको परिवारले माथिल्लो जातिको काम गरेवापतको अन्नले केही दिनलाई खान पुुगे पनि अहिले भने परिवार पाल्न निकै समस्या भएको बताए । वडाध्यक्ष महतले भने , “आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छौं , यिनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि समस्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।”





