वाशिङ्टन डिसी । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएको बताए ।
राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए ।





