समाचार

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा. खड्काले भने , “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उनले बताए ।

उहाँका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् । कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।