सुदूरपश्चिम । यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् ।
कोरोना भाइरसको जस्तो लक्षण देखिने धेरै व्यक्ति अझै पनि होमआइसोलेशनको एकान्तबासमा छन् । कोरोना सङ्क्रमितहरु अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार व्यवस्थापनमा रहेका छन् ।
कोरोनाको जोखिम यथावत् रहँदा किसानलाई बर्खे धानबालीको खेती गर्ने समय आइसकेको छ । यो रोगको जोखिम मोलेर भए पनि खेती गर्नै पर्ने वाध्यता रहेको किसानहरु बताउँछन् । धनगढी उपमहानगरपालिका—१३ का किसान वीरबहादुर चौधरी कोरोना फैलिने त्रास भए पनि खेती गर्नै पर्ने वाध्यतामा आफूहरु रहेको बताए । “दिनभरि कडा शारीरिक परिश्रम गरिरहने हामीलाई कोरोनाको सङ्क्रमण हुन सक्दैन भन्ने विश्वास छ”, उनले भने, “तर पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कृषि कर्म गर्न थालेका छौँ ।”
धान खेती गर्ने तयारीस्वरूप किसान यतिबेला आआफ्ना खेत खनजोतमा लाग्न थालेका छन् । कोरोना महामारीका बीच अहिले किसानलाई धानको ब्याड (बीउ)छर्न भ्याइनभ्याइ पनि छ । अहिले राखेको ब्याड एक महिनापछि अर्थात् असारको दोस्रो हप्तामा तयार भएपछि रोपाइँ गरिन्छ । रोपाइँ गर्दा चाहिने रासायनिक मलको व्यवस्थापन समयमै कसरी गर्ने भन्ने चिन्ता पनि धेरै किसानलाई छ । बर्खे धान किसानको आम्दानी स्रोतको मुख्य बाली हो ।
धानको ब्याडमा सिँचाइ गरिरहेको भेटिनुभएका धनगढीकै अर्का किसान गुलाब रानाथारुले भने, “कोरोना महामारी नफैलियोस् भनेर किसान सचेत भएर खेतीको काम गरिरहेका छन्, महामारी भए पनि पेट पाल्नका लागि खेतीको काम नगरी नहुने वाध्यता छ ।” बैंकबाट ऋण निकालेर ट्र्याक्टर खरिद गरेका उनले कोरोना सङ्क्रमण रोक्न लगाइएको निषेधाज्ञाका कारण एक महिनाभन्दा बढी समयदेखि ट्र्याक्टर चलाउन आएका छैन ।
अर्का किसान हीरालाल चौधरी कोरोनाको समस्याले बजारसम्म पुगेर मजदुरी गर्ने वातावरण नहुँदा गुजारा चलाउन आफ्नै गाउँमा खेतीको काम गर्नुपरेको बताए । गत वर्ष फैलिएको कोरोना महामारीका बेला देखिएको जस्तो सन्त्रासको वातावरण भने यस वर्ष नभएको किसानको भनाइ छ । “यस वर्षको कोरोनाले बढी मान्छेको मृत्यु हुँदा पनि गत वर्षको जस्तो त्रास देखिँदैन”, चौधरीले भने , “स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने बुझाइ जनतामा छ ।” कोरोना रोक्न गत वर्ष एक्कासि लकडाउन (बन्दाबन्दी) गरिँदा पनि कोरोनाको त्रास बढेको स्थानीयवासीको बुझाइ छ ।
यसैबीच कोरोना महामारीको जोखिमका बीच बर्खे धानबालीको खेती गर्ने तयारी गरिरहेका किसानले रासायनिक मलको सहज आपूर्ति नभइरहेको बताएका छन् । कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण मल विक्रेता सहकारी संस्थालाई आवश्यक परिमाणमा मल ढुवानी गर्न समस्या भइरहेकाले चाहिने जति मल नपाउने गरेको गुनासो उनीहरुको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयले निषेधाज्ञा जारी हुँदा पनि यही जेठ ९ गतेदेखि जिल्लाभरि मल बिक्री वितरणको व्यवस्था गरिएको जनाएको छ । कार्यालयको गोदाममा हाल झण्डै ७०० मेट्रिक टन डिएपी, ५० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।





