कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो । “कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने , “स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन् ।” एक्सरे मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापनका लागि कार्य अगाडि बढाइने उनले बताए ।
नगरपालिकाले सञ्चालन गरेको १५ शय्याको कोभिड अस्पतालमा अक्सिजनसहित दुई चिकित्सकको व्यवस्था गरी सेवा उपलब्ध गराइँदै आएको छ । कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमूना सङ्कलन गर्ने र आवश्यक औषधि निःशुल्करूपमा अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।
लागुऔषध खैरो हिरोइनसहित पक्राउ
भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरिएको बताइएको छ । पक्राउ परेका चन्दलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।





