समाचार

बाँदरमुढे घटना : पीडितको पीडा उस्तै

चितवन । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए ।

घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।

लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका–९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा परी उहाँको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । विकले भनिन् “हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।”

बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनको गुनासो छ । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउछन् । सो घटनाकै कारण छ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनको गुनासो गरे ।