समाचार

बुद्ध भिक्षुस्थल अनोमाघाटमा बुद्धपार्क बन्दै

परासी । ओझेलमा परेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाटमा बुद्धपार्क बन्ने भएको छ । पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन यहाँ विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो ।

सुस्ता गाउँपालिका–५ स्थित ठाडीघाटका रूपमा परिचित अनोमाघाट क्षेत्रलाई नमूना पर्यटकीय गन्तव्य बनाउन गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले चासो देखाएका हुन् । भगवान् गौतमबुद्धसँग सम्बन्धित भए पनि यो क्षेत्र ओझेलमा पर्दै आएको छ ।

नारायणी नदीको तटमा रहेको यो स्थल गौतमबुद्ध भिक्षु बनेको स्थल हो । कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले यसै स्थलमा केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

हाल प्रदेश सरकारको सहयोगमा अनोमाघाट क्षेत्रले ओगटेको छ बिघा क्षेत्रफललाई संरक्षण गरी चारैतिरबाट पर्खाल लगाउने कार्य धमाधम भइरहेको अध्यक्ष पाण्डेले बताए । यसै वर्ष यस क्षेत्रमा रमणीय उद्यान बनाउने योजनासमेत रहेको उनले बताए । यद्यपि कोभिड महामारीका कारण निर्माणकार्य अघि बढाउन समस्या भइरहेको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्ष पनि गाउँपालिका र प्रदेश सरकारको लगानीमा यस क्षेत्रमा बुद्धपार्क बनाउने योजना अघि सारिएको छ । बुद्धको ठूलो मूर्ति स्थापना गर्दै बुद्धपार्क बनाएर पर्यटकीय गन्तव्य बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

दुई वर्षअघि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउँदा पनि यस क्षेत्रलाई मुख्य गन्तव्यस्थलकारूपमा प्राथमिकतामा राखेको थियो भने प्रदेश सरकारका मन्त्रीहरूको सहभागितामा पूर्णिमा उत्सव पनि मनाइएको थियो । गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया जाँदाको प्रस्थान विन्दु रहेकाले पनि अनोमाघाट क्षेत्र महत्वपूर्ण पर्यटकीयस्थलका रूपमा रहेको छ ।

सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी (अनोमा) नदीको किनारमा अवस्थित छ । मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षको उमेरमा अनोमा नदी (त्रिवेणी नदी)मा टाउको मुण्डन गरेर सन्यासी भएको बुद्धग्रन्थहरूमा उल्लेख छ ।

लुम्बिनी र रामग्राममा आउने पर्यटकलाई अनोमाघाटसम्म ल्याउने गरी पहल भइरहेको गाउँपालिकाले जनाएको छ । यो पनि एउटा महत्वपूर्ण बुद्धस्थल भएकाले यस क्षेत्रको संरक्षण, विकास, प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीयवासी बताउँछन् । बुद्धजन्मभूमि लुम्बिनीको बहृत्तर विकास भइरहँदा अनोमाघाट क्षेत्रको विकासमा उचित ध्यान नदिइएको स्थानीयवासीको गुनासो छ ।