समाचार

गन्धर्व समुदायमा राहत पुगेपछि खुशीयाली

झापा । झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार राससमा प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए ।

काठमाडौँका केदार गान्धारीले रु ९० हजार पठाएर रासस झापा कार्यालयमार्फत बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट सहयोग गर्नुभयो । गान्धारीबाट प्राप्त राहत सामग्री राससको झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री सोमबार हस्तान्तरण गरे ।

राहत सामग्री पाएपछि खुशी भएकी स्थानीयवासी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताइन । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो”, धनमायाले भनिन् , “राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”

गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीयवासी रेजिना गन्धर्वले बताइन ।

झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन ।