समाचार

गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण

१७ कार्तिक, काठमाडौं । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनि आज बैतडी पुगेका हुन् । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो ।

निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रुपमा मद्दत गर्ने स्थानीयवासीलाई आश्वासन दिएका छन् । उनले भने, “ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ ।”