२१ चैत, रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन ।
चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उनले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताए । “नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली कांग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ”, पोखरेलले भने । राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताए ।
सो कार्यक्रममा वरिष्ठ नेता पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताए । भेटवालले पार्टीभित्र कडारूपमा टिप्पणी गर्ने, विरोध गर्ने तर पार्टीले निर्णय गरेको कुरा आफू अनुकूल नहुँदासमेत स्वीकार गरेर हिँड्ने गरेको स्मरण गरे । सो अवसरमा पोखरेलले जागृतप्रसाद भेटवाल स्मृति ग्रन्थको विमोचन गरेका थिए ।
राजनीतिमा मात्र नभएर साहित्यमा झर्रो आन्दोलन गर्नुभएका नेता भेटवालले ‘नौलो साहित्य’ भन्ने पत्रिका छपाएर ह्रस्व मात्र लेख्ने अभियानको थालनी गरेका थिए । यस पत्रिकाले तत्कालीन राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्था विरुद्ध ठूलो जनमत सिर्जना गरेको थियो । विसं २०४२ मा फासिस्ट पञ्चायती व्यवस्थाको निर्वाचनमा क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लिएर भेटवाल अगाडि बढेका नेता काशिनाथ अधिकारीले बताए ।





