६ वैशाख, इस्लामावाद । पाकिस्तानको दक्षिणी दादु जिल्लामा ७० भन्दा बढी घरमा आगलागी हुँदा बालबालिकासहित नौ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
सो क्षेत्रमा सोमबार राति आएको हावाहुरीका कारण गाउँलेको चुलोबाट आगो फैलिएपछि जिल्लाका तीन गाउँमा आगलागी भएको जनाइएको छ ।
गाउँलेहरू दाउरा प्रयोग गरेर बाहिरी चुलोमा खाना पकाउँदै गर्दा तीन फरक ठाउँमा आगो फैलिदा छुट्टाछुट्टै ठाउँमा ७० भन्दा बढी घर ठूलो आगलागीमा परेको छ। आगलागी हुँदा घरमा सुतिरहेका कम्तीमा पाँच जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय स्वयंसेवकहरूले उद्धार कार्यमा सहभागी भई घाइतेहरूलाई नजिकैको अस्पतालमा सारेका थिए।
घटनालगत्तै जिल्ला प्रशासन कार्यालयबाट खटिएको उद्धारकर्मी पनि घटनास्थलमा पुगेर शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिएका थिए ।





