राजनीति

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली


२६ वैशाख, गण्डकी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो । 

उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका  भन्दै उनको आसन्न निर्वाचनमा एमालेले विजय हासिल गर्न विश्वास व्यक्त गरे । भनाइ छ ।

पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे ।  

वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे । 

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए। शिक्षा, स्वास्थलगायत आधारभूत आवश्यकतामा सबै जनताको पहुँच पु¥याउने र पोखरालाई उत्कृष्ट महानगरका रुपमा स्थापित गर्ने उनले बताए ।

उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सेवक बनेर महानगरवासीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने बताइन् । पोखरा महानगरलाई विकटबाट निकट बनाउन पूर्वाधार विकासका कामअघि बढाएको बताउँदै उनले महानगरलाई अझै सुन्दर बनाउन साहित्य, संस्कृति, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।