२१ जेठ, भक्तपुर । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले संविधानविपरीत सङ्घीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरे कदापि मान्य नहुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज यहाँ आयोजना गरेको नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा उनले भने, “सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चार कानून ल्याउँछौँ र पत्रकारलाई ठेगान लगाउँछौँ भनेर भनिरहेको छ, केही स्थानीय तहले त्यस्तो विरोधाभाषपूर्ण कानून ल्याउने काम पनि गरेको पाइएको छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानले दिएको अधिकार कुण्ठित पार्ने गरी सञ्चार कानून ल्याएमा महासङ्घ त्यसकाविरुद्ध आन्दोलनमा उत्रिन्छ ।”
सरकारमा पुगेपछि तीन तहकै सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुल्चिने प्रयासलाई पत्रकारले चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले बरु त्यस्ता कानून बनाउन आवश्यक ठाने महासङ्घले सघाउने बताए ।
पत्रकारितामा केही विकृती भए त्यसलाई सच्याएर जाने पनि उनले बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जुनसुकै पार्टीबाट निर्वाचन जिते पनि स्थानीय सरकार विभेदरहितरुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिलाई देशकै नमूना नगरपालिका बनाउने जिम्मेवारी आफूमा आएको बताउँदै त्यसलाई सफल पार्न पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनप्रतिनिधिलाई खबरदारी गर्ने, सत्यतथ्यमा आधारित रहेर पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले जिल्लाका सबै नगरपालिकालाई उत्कृष्ट बनाउन सूचना र सञ्चारलाई सँगै लिएर जाने बताए ।
महासङ्घका महासचिव पुरीले नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई माला, भादगाउँले टोपी लगाएर बधाई पत्र प्रदान गर्दै सम्मान गरेका थिए भने सबै नगर प्रमुखले पत्रकार महासङ्घको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसअवसरमा महासङ्घका सचिव नारायणसुन्दर किलम्बु, महासङ्घ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झा, महासङ्घ भक्तपुर शाखाकी उपाध्यक्ष लीला श्रेष्ठ, सचिव सञ्जिव शुभचिन्तकलगायतले पत्रकार महासङ्घको भवन निर्माणमा यहाँका स्थानीय तहले सघाउनुपर्नेमा जोड दिए ।





