२० साउन, धरान । नेपाली कांग्रेसले पदाधिकारी सदस्यहरुलाई विभिन्न विभागीय जिम्मेवारी प्रदान गरेको छ । क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले एक कार्यक्रमका वीच पदाधिकारी तथा सदस्यहरुलाई विभागीय जिम्मेवारी प्रदान गरेको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समसामयिक विषयहरु माथि अन्तरक्रिया गरिएको थियो । प्रमुख अतिथि एवम् नेपाली कांग्रेस, प्रदेश नं. १ का महामन्त्री उमेश थापाले पार्टीले कसैलाई पनि महाधिवेशनको प्रतिष्पर्धा, गुट वा उपगुटका आधारमा व्यवहार नगरेको भन्दै गुटगत क्रियाकलापमा कोही पनि लाग्नु नहुने बताए । प्रदेश नं. १ का निवर्तमान प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले नेकपा एमालेले देशैभरी झुट र भ्रमको खेती गरिरहेको बताउंदै त्यसलाई चिर्नुपर्ने बताए । सभापति तामाङले वडावडामा कांग्रेस जागरण अभियान लिएर स्थानीय सबै तहका नेतृत्वहरु आउने गृहकार्य भईरहेको बताउंदै जनताले भोगिरहेका स्थानीय समस्याहरुका बारेमा पार्टींले गरेका पहलहरुका बारेमा प्रकाश पारेका थिए । प्रदेश १(१) का सभापति अनिल श्रेष्ठले पार्टीभित्र अनुशासन र क्रियाशीलता दुवै हुनुपर्ने भन्दै वितेका कुरा गरेर बस्नु भन्दा केही गरेर अघि बढ्नुपर्ने बताए । नगर सभापति श्याम पोखरेलले आफुहरु सामुहिक नेतृत्वको विकास गर्दै टोलटोलमा आउने तयारीका लागि स्थानीय सबै तहका नेताहरु वीच छलफल गरिरहेको बताउंदै धरानका सबै खाले समस्याहरुमा पार्टीेले नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए ।
कार्यक्रममा क्षेत्रीय सचिव महेन्द्र प्रधानलाई पर्यटन, उद्योग तथा वाणिज्य विभाग, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीलाई सूचना, सञ्चार तथा प्रचार विभाग, क्षेत्रीय सहसचिव भोजराज न्यौपानेलाई संगठन विभाग, क्षेत्रीय सहसचिव सुमित राईलाई युवा तथा खेलकुद विभाग, सदस्यहरु लक्ष्मी खतिवडालाई शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, उमेश पौडेललाई गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, अतुल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि विभाग, लोकमणि शर्मालाई अनुगमन, मूल्यांकन तथा अभिलेख विभाग, आशिष कटवाललाई भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग, पदमसुन्दर लिम्वुलाई श्रमिक तथा ट्रेड युनियन विभाग, सन्ध्या श्रेष्ठलाई महिला विभाग, शोभापुलामी राईलाई द्धन्द्ध व्यवस्थापन तथा मेलमिलाप विभाग, पर्शुराम चौधरीलाई कृषि तथा भूमिसुधार विभाग, किशोर वि.क.लाई सुकुम्वासी तथा भूमिहीन अव्यवस्थित बस्ती विभाग, मणिराम राईलाई प्राकृतिक श्रोत, जल तथा उर्जा विभाग, प्रदिप राईलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, मचिन्द्र राईलाई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, सम्पुर्ण ताम्राकारलाई तरुण विभाग, प्रदिप थापालाई विदेश विभाग, दिनेश श्रेष्ठलाई सहकारी विभाग, भवानी प्रसाद ओझालाई संवैधानिक कानुन तथा न्यायिक विभाग, मनिष खड्गीलाई स्थानीयतह विभाग, विष्णु वराललाई पेशागत बुद्धिजीवी विभाग, मनिष शाहीलाई स्वास्थ्य विभाग, अशोक साहलाई मधेशी समुदाय समन्वय विभाग, कैलाश अग्रवाललाई मारवाडी समुदाय समन्वय विभाग र कमल प्रसाद भट्टराईलाई धार्मिक संघसंस्था समन्वय विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।





