राजनीति

गाई चिन्ह नदिएकोमा अध्यक्ष थापाले भनेः अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ

२१ भदौ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिएकमो भन्दै न्यायालयसँग असन्तोष पोखेका छन् ।
उनले भनेका छन्ः
अदालतको फैसला शिरोधार्य छ।
तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ।चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो। चलखेल, दवाव र ‘सेटिङ’ ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।
कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम मा।कुमार रेग्मी र मा।तिलप्रसादको ईजलासले गर्‍यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ। ओठें जवाफ दिन सकिएला, तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ।
झण्डामा गाई राख्न पाईने चुनाव चिन्ह बनाउन नपाउने ! निर्वाचन आयोग र अदालतको वाह! क्या गजबको निर्णय र न्याय ! अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ-कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? दलले आफ्नो चिन्ह रोज्नरपरिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनु होस्। जनताले पनि हेरोस्, बुझोस् ।
अदालतको फैसला मान्नु वाध्यता छ । मान्छु। देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गत कै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय।
तर, हामी हतोत्साहित वा विचलित भएका छैनौ। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ। भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ।