समाचार

थप आर्थिक सहयोग नपठाउन रबिन्द्र मिश्रको सर्बसाधारणलाई सार्बजनिक अपील

२९ कात्तिक, काठमाडौं । राप्रपा बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आफूलाई थप आर्थिक सहयोग नपठाउन आग्रह गरेका छन् ।
आफुलाई चुनाव खचएका लागि २५ लाख सहयोग पुगीसकेको बताउँदै त्यो आफ्नो लागि पुरा भएको बताएका छन् ।
उनले बिज्ञप्तीमा भनेका छन्ः

आदरणीय सञ्चारकर्मी मित्रहरू,

निर्वाचनको मर्यादा र पवित्रताले लोकतन्त्रलाई थप सुदृढ बनाउँछ। र, त्यसका लागि उम्मेदवारहरूको दृढ प्रतिवद्धता आवश्यक हुन्छ।

मैले गत २०७४ को चुनाव पनि आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन आयोगले तोकिदिएको २५ लाख रूपैयाको खर्च सीमाभित्र बसेर राम्रैसँग प्रतिष्पर्धा गरेको थिएँ। यस पटक पनि त्यसमा म उत्तिकै प्रतिवद्ध छु।

मैले चुनावी अभियानका लागि आर्थिक सहयोग गरिदिन केही हप्ता अगाडी सार्वजनिक अपील गरेकोमा मलाई विश्वास गर्ने धेरै सहृदयी शुभेच्छुकहरूले गच्छे अनुसारको सहयोग गर्नुभएको छ। र, यसरी करिब २५ लाख रूपैया जुटिसकेको छ।

मैले एउटा भिडियो सन्देश मेरो सामाजिक सञ्जालमार्फत् जारी गरेर अब मलाई सहयोग रकम नपठाउन अपील गरेको छु।

मेरो दावी के हो भने चुनाव जित्न अधिकांश उम्मेदवारहरूले निर्वाचन आयोगको सीमाभन्दा कयौँ गुणा बढी करोडौँ करोड खर्च गर्ने गरेको परिप्रेक्ष्यमा गत निर्वाचनमा र यस पटक पनि सीमाभित्र बसेर पारदर्शी, व्यवस्थित र निकै प्रभावकारी चुनावी अभियान सञ्चालन गर्नेमा म सम्भवतः निकै थोरै उम्मेदवारमध्ये एक हुँ।

म चाहन्छु, मेरो यो सन्देश धेरै भन्दा धेरै मतदाताकहाँ पुगोस् र देशको जुनसुकै क्षेत्रमा रहेका उम्मेदवारहरूले पैसा खन्याएर मतदाता प्रभावित गर्न भड्किलो र खर्चिलो अभियान चलाएको भेटिँदा सचेत मतदाताले खवरदारी गरून्।

त्यसैले मेरो यो अपील तपाईँको सञ्चारमाध्यममार्फत् प्रकाशनरप्रसारण गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।