समाचार

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

४ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन् ।

उनले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गररेका थिए । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गरेका थिए।

नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी भएका थिए ।

विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।