राजनीति

प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे । सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए ।

उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूताबासले जनाएको छ । साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सगाल्ने छ ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएका हुन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिए ।