२५ फागुन, तनहुँ । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर खुसियाली मनाएका हुन् ।
“यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले पाइएला रु” रिस्तीका रामप्रसाद मिश्रले भने, “त्यसैले अब यो मौकामा आपसमा बधाई साटासाट गरेर मनाएका हौँ । रिस्तीमा जन्मिएका व्यक्ति मुलुककै अभिभावक हुँदा खुसीयाली नहुने कुरै भएन ।” राष्ट्रपति पौडेलकै प्रेरणाबाट आफू पनि राजनीतिमा होमिएको मिश्रले बताए । राष्ट्रपति पौडेललाई स्थानीयले निष्ठावान्, त्यागी र आदर्शवादी नेताको रुपमा बुझ्ने गर्छन् । पञ्चायती व्यवस्था विरुद्ध पटकपटक गरी करिब १४ वर्ष राजनीतिक बन्दीको रुपमा जेलमा पर्नुभएका पौडेललाई राष्ट्र प्रमुखको रुपमा देख्न पाउँदा उनले गर्नुभएको त्याग र कर्मको कदर भएकोमा स्थानीय हर्षित छन् ।
स्थानीय ७६ वर्षीय कृष्णकान्त पौडेलले भने, “काम त भोलि पनि गरौँला । तर यस्तो खुसी मनाउने मौका फेरी आउने कुरा भएन । यो दिन कहिले आउला भन्ने थियो । बल्ल गाउँमा खुसी छाएको छ ।”
राष्ट्रपति पौडेललाई प्रत्यक्ष भेटेर बधाई दिन रिस्तीका स्थानीय केही नेता तथा अगुवा काठमाडौँ पुगी सक्नुभएको छ । “यसै गाउँले जन्माएको त्यागी नेता राष्ट्रपति हुँदा पालिकावासी सबै खुसी छौँ”, बधाई दिन काठमाडौँ पुग्नुभएका भएका व्यास नगरपालिका–८ का वडाध्यक्ष युवराज गुरुङले भने, “यसअघि हामीलाई यस्तो खुसी मनाउने मौका कहिल्यै मिलेको थिएन ।” राष्ट्रपति पौडेलले संविधानको पूर्ण पालना गर्नेतर्फ आफूलाई विवादरहित तवरले प्रस्तुत गर्नेतर्फ अग्रसर हुनुपर्नेमा अध्यक्ष गुरुङले जोड दिए ।
पञ्चायती व्यवस्थाको विरोधमा लाग्दा तत्कालीन प्रशासनबाट बचाउन आफूले राष्ट्रपति पौडेललाई लुकाएर खाना खुवाएको सम्झना आँखाअघि झल्झली नाचेको राष्ट्रपति पौडेलको भाउजु नानीमायाले बताए । जनता र मुलुकको समृद्धिको लागि पटकपटक जेल पर्नुभएका देवरको ढिला भए पनि योगदानको कदर भएकोमा गर्व लागेको उनले बताए । “सङ्घर्षको बेला देवर बाबुले जनता र मुलुकको लागि मर्नसमेत डराउनुहुँदैन भनेर भन्नुहुन्थ्यो”, नानीमायाले भने, “अहिले यस्तो खुसीको दिनपनि देख्न पाइयो ।”
रिस्तीको बाहुनपोखरामा जन्मनुभएका पौडेल जेठा सन्तान छन् । उनका पाँच भाइ र चार बहिनी हुनुहुन्छ । राष्ट्रपति पौडेलले स्थानीय श्री कृष्णालय पाठशालाबाट अक्षरारम्भ, त्यसपछि लमजुङ दुराडाँडामा रहेको पाणिनी पाठशालाबाट प्राथमिक तहको शिक्षा पूरा गरेको थियो । निम्न माध्यमिक तहको शिक्षा भने उनले पोखरास्थित विन्धवासिनी माध्यमिक विद्यालयबाट लिएको हो । त्यसपछि काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेएको हो । पौडेलको रिस्ती र दमौलीको अमरापुरीमा घर छ । विसं २०४८ को आमनिर्वाचनमा विजयी भएपछि रिस्तीको घर छाडेर पौडेल परिवार काठमाडौँ बसाइ सरेको थियो ।





