२२ बैशाख, वीरगञ्ज । नक्कली नोट र स्कार्पियोसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाडी चालक सर्लाहीको गोडौता नगरपालिका–१२ मधुवनी गाउँ बस्ने ३४ वर्षीय आनन्दबर्दन सिंह र गाडीमा सवार बाराको परवानीपुर गाउँपालिका–३ बस्ने ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।
विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ चालिसफिटेस्थित सडकखण्डमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त विशेष प्रहरी टोलीले सेतो रंगको स्कार्पियो गाडीलाई जाँच गर्दा सेतो प्लाष्टिकको झोलाभित्र नेपाली नक्कली नोट १०० दरका ४५० थान र ५०० दरका ७२ थान गरी जम्मा नेपाली नक्कली नोट ४ लाख ८६ हजार रुपैयाँ र सक्कली १००० दरका नोट २०० थान गरी जम्मा नेपाली नोट २ लाख फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
गाडी चालक सिंह र गाडीमा सवार साहलाई स्कार्पियो गाडी र नक्कली नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आरोपीलाई कार्यालयमा ल्याई मुद्रा सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





